२२ दलको र्याली : दाहाल गएनन्, शीर्षले बोलेनन्
काठमाडौं । एकीकृत नेकपा माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले शुक्रबार राजधानीमा दबाब र्याली प्रदर्शन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमाले पहिचानसहितको संघीयता छाडेर संविधान बनाउन उद्यत रहेको भन्दै त्यसविरुद्ध घोषित विरोध र्यालीमा प्रमुख दल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन्।
अन्य दलका शीर्ष नेता सहभागी भए पनि सम्बोधन भने गरेनन्। विरोध कार्यक्रम घोषणालगत्तै तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीबीच पाँचबुँदे सहमति भएकाले सहभागी उल्लेख्य थिएनन्। २२ दलले गत असोज २० गते पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका थिए। शुक्रबार पहिलो दिनकै कार्यक्रममा दाहाल अनुपस्थित भए। पाँचबुँदे अनुसार गठन हुने राजनीतिक समितिमा पहिलो दुई महिना दाहाललाई नेतृत्व दिने सहमति छ।
शुक्रबारै आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए। दाहालका सहयोगी शिव खकुरेलका अनुसार उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार सिरहा पुगेका हुन्। ‘पहिला नै कार्यक्रम तय भएकाले अध्यक्ष उता जानुभयो,' खकुरेलले नागरिकसँग भने। विरोध र्यालीमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले नेतृत्व गरेका थिए।
विरोध जुलुसमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता उपस्थित रहे पनि सम्बोधन भने गरेनन्। प्रदर्शनलाई दोस्रो तहका नेताले सम्बोधन गरेका थिए।
उनीहरुले सत्तारुढ कांग्रेस र एमालेले पहिचान पक्षधर संविधान बनाउन नखोजेको भन्दै आलोचना गरेका थिए। मधेसी अधिकारकर्मी तुलानारायण साहले राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउतको रिहाइ माग गरेका थिए।- नागरिक न्यूज


0 comments
Write Down Your Responses