७२ वर्ष अघि काँधमा बोकेर कार भित्र्याउने बहादुर चिन्नुहोस !

काठमाडौं । तस्बिरमा देखिएका धनबहादुर गोले हुन्। धनबहादुर एकमात्र जिवित भरिया हुन जसले पहाडी बाटोमा कार बोकेर काठमाडौं ल्याएका थिए। काठमाडौंका शासकका लागि मोटर चढाउन काँध दुखाएका यी भरिया अहिले ९२ वर्षका भए।

नेपालको राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग सन् १९५६ मा बन्यो। राणाहरु कारका सौखिन भए पनि यहाँसम्म गुडाएर ल्याउने बाटो थिएन। त्यसैले एकमात्र विकल्प भनेको भरियाहरु थिए। २० वर्षको उमेरमा भारी खेप्न गएका उनले कार भन्ने जिनिस के हो समेत चाल पाएका थिएनन्। काठमाडौंबाट १६ किलोमिटरमात्र दुरीमा रहेको चित्लाङमा सन् १९२२ मा जन्मिएका थिए उनी। उनको गाउँमा कार पुग्ने बाटो पुगेकै पनि एक दशक नाघेको छैन।
mainphoto


फोटो: प्रकाश माथेमा/एएफपी

धनबहादुरका बाबु किसान थिए र कर संकलक पनि। सन् १९५१ सम्म कायम राणा शासनमा कर उनीहरुले नै बुझ्थे। 'हामीसँग पैसा रहन्नथ्यो। सबै कर राणाहरुले लिन्थे। हामी आफ्नोलागि खेतीमै जोतिनुपर्थ्यो,' उनले भने। अर्कोतिर राणाहरु थिए जो मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी कार उनीहरुलाई बोकाएरमात्र ल्याउँदैन थिए त्यसका लागि चाहिने इन्धनको भारी पनि थोपार्थे। भारतबाट पहाडी बाटो हुँदै काठमाडौंमा गाडी भित्र्याइन्थ्यो।

लग्जरी कारप्रति राणाको राम्रै मोह थियो। सन् १९३९ मा हिटलरले जुद्धशम्शेर राणालाई मर्सिडिज बेन्ज उपहार नै पठाएका थिए। दोस्रो विश्वयुद्धमा गोर्खालीलाई टाढै राख्न हिट्लरले यस्तो महँगो उपहार पठाएका थिए।
गोलेको भारी बोक्ने काम बिहान ५ बजेको झिसमिसेमै हुन्थ्यो। बाँसमा कारलाई बाँधेर उनीसँगै ६३ जना भरिया कार्गोको रुपमा काँधमा बोक्न तयार हुन्थे र बोकेर पाइला चाल्थे।

खद्दरको बाक्लो लुगा लगाएका उनीहरु खोला र चिप्लो बाटोमा भन्थे, 'उचाल उचाल, अगाडि बढाउ।' करिब पाँच साता यसैगरी काम हुन्थ्यो। 'जब हामीले बोकेर गाडी ड्राइभरलाई बुझायौं उसले यसलाई चलायो र यो जिवित भयो। हामीलाई त जादु हेरिरहेका छौं जस्तै भयो,' गोलेले सुनाए।

विश्वबाट एकदमै टाढा रहेको भूपरिवेष्टित नेपाल आधुनिक यातायातबाट धेरै नै पछि थियो त्यतिखेर।
गोलेले यसरी कार बोक्ने क्रम केही वर्षसम्म जारी रह्यो। केही दिन थकाइ मार्न बसेलगत्तै उनीहरुलाई कार ओसार्ने जिम्मा आइहाल्थ्यो। उनले करिब २५ रुपैयाँ कमाउँथे एक महिनामा। त्यही पैसाले उनले नयाँ घर बनाउन सके जसमा उनी आफू र एक नातीको परिवार बस्दै आएका छन्।

'हामीले उकालो र नदी तार्दा कारलाई सुरक्षित राख्नुपर्थ्यो अनि घुम्तीमा पनि,' उनले भने, 'हामी सबै लक्का जवान थियौं, साथीहरु पनि उस्तै हरेक दिन अनौठो र रमाइलो पनि हुन्थ्यो।'

छैन कारमा रुची

यसरी कारलाई काँधमा बोकेर हिड्ने दिन त्रिभुवन राजमार्ग बनेपछि रोकियो। सडक काठमाडौंसम्मै जोडियो। भारतीय सीमा नजिकैको वीरगञ्जबाटबाट काठमाडौं सडकमार्ग बन्यो। 'उनीहरुले सडक बनाए त्यसपछि हामी काम लाग्ने भएनौ उनीहरुका लागि,' उलने भने। त्यतिखेर राणाहरु सत्ताबाट बाहिरिएका थिए। तर चित्लाङमा सामान्यमात्र परिवर्तन भयो।

'हामीसँग स्कुल थिएन, सडक थिएन, डाक्टर थिएनन्, चर्पी पनि थिएन। कुनै पनि राजाले हाम्रा लागि केही गरेनन्,' उनले भने। सन् २००८ मा जब नेपालमा पूर्णरुपमा राजतन्त्र मासियो र गणतन्त्र आयो गोले जनयुद्धपछिको पहिलो निर्वाचनमा भोट हाल्न आतुर थिए। संविधान बनाउन निर्वाचन भए पनि असफल भयो त्यसले जताततै निरसामात्र बढायो। तै पनि गोले मुलुकको भविष्यप्रति आशावादी छन्। 'धेरैकुरा राम्रो भएको छ। अहिले हामीसँग विजुली, पानी, खद्यान्न सबै छ,' उनले भने, 'अहिले सरकार मन परेन भने त्यसलाई लात्ताले हान्न सकिन्छ। पहिले कसैले केही गर्न सक्दैन थियो।' तीनवटा बिहे गरेका गोले अहिले विदुर छन्। नातिनातिना कति छन उनैलाई सम्झना छैन। अझै पनि उनी बिहानै उठ्छन् र पहाडी  बाटोमा हिड्छन्। उनका सहपाठीहरु सबै बितिसके।

काँधमा कार बोकेर काठमाडौंसम्म पुर्‍याएको भए पनि उनी कार भने कहिल्यै चढेनन्। 'मलाई लाग्छ कार हाम्रा राजाहरुका लागि उपयोगी छन्, मेरालागि ती केही होइनन्,' उनले भने, 'मलाई कार चढ्ने रहर कहिल्यै भएन, म घरमै खुसी छु। जे भए पनि अहिले म साहसिक काम गर्न बुढो भइसकेँ।'
(समाचार संस्था एएफपीको रिपोर्टको भावानुवाद)
फोटो: प्रकाश माथेमा/एएफपी

0 comments

Write Down Your Responses

Follow on Facebook