दीपक विष्टको सन्न्यासपछि नेपाली तेक्वान्दोमा साख जोगाउने चुनौती

नेपाली तेक्वान्दोमा दीपकमात्र सफलता हासिल गर्ने एक्ला खेलाडी होइनन् सविता राजभण्डारी, सङ्गीना वैद्य, आयशा शाक्य, मनिता शाही, कुमार मानन्धर पनि उहाँकै हाराहारीमा हुनुहुन्छ यद्यपि उहाँहरू दीपकसँग तुलना गर्न चाहनुहुन्न । दीपकजस्तो प्रतिभावान आफूहरू नभएको उहाँहरू स्वीकार गर्नुहुन्छ । खेलाडी मनिता दीपकको सन्न्यासपछि अब तेक्वान्दोमा उहाँको स्तरको खेलाडी मुलुकले पाउन मुस्किल पर्ने बताउनुहुन्छ । दीपकले खेल जीवनमा गरेको मेहनतबाट आफू साँच्चै प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो – “दीपक खेलप्रति यति समर्पित हुनुहुन्थ्यो कि शल्यक्रियाका बेला पनि प्रतिस्पर्धा गर्न उहाँ चुक्नुभएन ।”
आफ्नै मेहनत, सङ्घर्ष र खेलप्रतिको लगावले दीपकको उचाइ बनेको उहाँको भनाइ छ । तेक्वान्दोको वर्तमान संरचनाले अब दीपकजस्तो खेलाडी उत्पादन गर्न गाह्रो हुने तेक्वान्दो खेलाडी बताउँछन् । उहाँको प्रतिस्थापन गर्ने खेलाडी तयार गर्न खेल संरचनामा पूरै परिवर्तनको आवश्यकता आँैल्याइएको छ ।
“यहाँ कुनै प्रतियोगिता नै भइरहेको छैन, यस्तो चालले उहाँजस्तो खेलाडी कसरी बनाउने र पदकको आश गर्नेे ?” मनिताले प्रतिप्रश्न गर्नुभयो । तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कुमार लामा घिसिङ दीपकलाई अहिलेसम्मकै कुशल खेलाडी र प्रशिक्षक मान्नुहुन्छ । दीपकको खेल जीवनबाट निकै प्रभावित उहाँले भन्नुभयो – “दक्षिण एसियामा अहिलेसम्म हार नव्यहोरेको दीपकको खेल यात्रा अविष्मरणीय छ ।”
खेलकुदको विकासमा राजनीति बाधक बनिरहेको नेपाली खेलकुदमा नौलो कुरा होइन । प्रशिक्षक घिसिङ खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच विवाद रहेसम्म दीपकजस्तो खेलाडीको आशा गर्न नसकिने बताउनुहुन्छ । खेलाडीको व्यक्तिगत प्रयासले तेक्वान्दो खेलले धेरै दीपक विष्टहरू जन्माउन पनि सक्ने आशा गर्नेको पनि कमी छैन खेलकुल क्षेत्रमा ।
“मनिता शाही, अरुण अधिकारी, निमा गुरुङ, सक्षम कार्की, ज्ञानी चुनारा, निशा रावल, मोहम्मद वेश, रञ्जन श्रेष्ठजस्ता खेलाडीले स्तरीय प्रशिक्षण पाएमा दीपकको पथ पछ्याउन सक्छन्” – घिसिङ भन्नुहुन्छ । नेपाल तेक्वान्दो सङ्घका निर्देशक केशवराज गौतम दीपकले लगातार जितेका चार स्वर्ण पदक नै उहाँको योगदानलाई सम्झन काफी रहेको बताउनुहुन्छ । दीपकको सन्न्यासपछि उहाँजस्ता खेलाडी उत्पादन गर्न सङ्घ गम्भीर रहेको र त्यसका लागि १८ खेलाडी निरन्तर प्रशिक्षणमा छन् ।
“दीपकको अवकाशपछि पनि उहाँको कमीको महसुस हुन दिइने छैन, दीपक स्वयम् प्रशिक्षक भएकाले उनीजस्तो खेलाडी उत्पादन गराउन सकिने आश गर्न सकिन्छ” – निर्देशक गौतम भन्नुहुन्छ । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष सुशीलशमशेर राणा “खेलकुद क्षेत्रले रचेको दीपक विष्टको इतिहास कसैले पनि तोड्दैन” भन्नुहुन्छ । नेपालको मात्र नभएर दक्षिण एसियाकै इतिहास दीपकको भएकाले लगानीको कमीका कारण उहाँजस्ता अन्य खेलाडी उत्पादन गर्न गाह्रो भइरहेको उहाँको तर्क छ । उहाँका अनुसार तेक्वान्दो खेलको विकासका लागि ७० जिल्लामा सङ्घ क्रियाशील रहेको, खेलाडी खोज्ने र प्रतियोगिता भइरहेका छन् । त्यससँगै राष्ट्रिय टिम छनोट र खेलाडी उत्पादनका लागि सङ्घ लागिपरेको छ ।
त्यसका लागि विदेशी प्रशिक्षक ल्याउने प्रयास भइरहेको । दीपक विष्ट इमान्दार र मेहनति भएकै कारण सफल खेलाडी भएका पारा वल्र्ड च्याम्पियन यादव कुँवर बताउनुहुन्छ । सन्न्यासपछि अब दीपकले आफूजस्तै खेलाडी उत्पादन गर्नुपर्ने उहाँको धारणा छ । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का दीपकलाई नेपालका सबभन्दा लोकप्रिय खेलाडी मान्नुहुन्छ । “दीपकले लगातार चार स्वर्ण पदक जिते, हाम्रा खेलाडीलाई यो प्रायः असम्भव हुन्छ” – दीपकका समकालीन हरिले भन्नुभयो ।
सफल खेलाडी भए पनि घमण्ड नगर्ने उनको गुण अनुकरणीय भएको खेलाडी अन्य खेलाडीहरू बताउँछन् । नेपाली क्रिकेट टिमका विकेटकिपर÷ब्याट्सम्यान सुवास खकुरेल दीपक विष्टलाई कसैले पनि प्रतिस्थापन गर्न नसक्ने ठोकुवा गर्नुहुन्छ । घाइते हुँदा पनि साहसका साथ भिड्ने उहाँको अनौठो बानीको सुवास प्रशंसा गर्नुहुन्छ ।

0 comments
Write Down Your Responses