नेपालमा भारतीय नाकाबन्दीको सास्ती ब्योहोरिरहेको बेला यसरी फोहोरमा फालिएका प्लास्टिकबाट डिजेल र पेट्रोल (भिडियो सहित)


रवीन्द्र घिमिरे 
३० पुस, काठमाडौं । प्लास्टिक तथा प्लाष्टिकजन्य पदार्थले वातावरण प्रदुषण गरेको भन्दै सरकारले यसको प्रयोगलाई निरुत्साहित गर्दै आएको छ । तर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरुले फोहोरमा फालिएका प्लास्टिकबाट तेल निकालेर देखाउँदै सरकारलाई नयाँ बाटो देखाएका छन् । नास्टको ल्याबमा बिहीबार फोहोरको थुप्रोबाट टिपेर ल्याइएका प्लास्टिकबाट पेट्रोलियम तेल उत्पादन भएको अचम्मको दृश्य देखियो । 

नाकाबन्दीका कारण देशले तेलको चरम अभाव खेपिरहेको समयमा फोहोरमा फ्याकिएका प्लाष्किटबाटै तेल निकाल्ने प्रविधिलाई सबैले र महत्वपूर्ण माने । अमृत साइन्स क्याम्पस (अस्कल) का बीएससी चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले ल्याबमा प्लास्टिकबाट तेल उत्पादन गरेर देखाइदिएका हुन् । उनीहरुले ल्याबमा पानीका जारका बिर्को, पोलिथिन झोला, विद्युतीय सामग्री प्याक हुने फर्म लगायत वस्तु जम्मा गरेर त्यसबाट तेल निकालेका हुन् । 

प्लाष्टिकबाट पेट्रोेलियम तेल उत्पादन गर्ने प्रयोग सफल भएको भन्दै दंग थिइन् अनुसन्धानमा संलग्न छात्रा अञ्जली कर्ण । ‘हाम्रो जस्तो तेलको समस्या बल्झिरहने देशमा पेट्रोलियम पदार्थ नै उत्पादन हुने प्रविधिबारे अनुसन्धान गर्दा निकै खुसी लागेको छ’ कर्णले भनिन्- ‘यो प्रविधिलाई देशभर विस्तार गर्नसके जताततै देशकै अर्थतन्त्रमा टेवा पुग्ने थियो ।’ 



एक केजी प्लास्टिकबाट एक लिटर तेल 

यो प्रविधिमार्फत एक केजी प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थबाट ७ सय मिलिलिटर देखि १ लिटरसम्म तेल उत्पादन गर्न सकिने नास्टका बरिष्ठ प्राविधिक अधिकृत तथा वैज्ञानिक डा. रविन्द्रप्रसाद ढकालले बताए । ढकालका अनुसार पोलिथिनबाट कम तेल उत्पादन हुन्छ भने कडा किसिमका प्लाष्टिकका सामग्रीबाट धेरै तेल निस्किन्छ । 

प्लाष्टिक बनाउँदा नै पेट्रोलियम प्रयोग हुने भएकाले त्यसबाट तेल उत्पादन गर्न सम्भव भएको उनको भनाई छ । काठमाडौंमा मात्रै दैनिक ४५ टनभन्दा बढी प्लाष्टिक उत्पादन हुने गरेको छ । प्लास्टिकबाट व्यवसायिकरुपमा तेल निकाल्न थालियो भने दैनिक ३ लाख १५ हजार लिटर तेल उत्पादन गर्न सकिने वैज्ञानिकहरुको दावी छ । अन्य शहररुमा पनि प्लास्टिकको खपत उच्च भएकाले यो प्रविधि सबैशहरसम्म पुर्‍याउनुपर्नेमा विज्ञको जोड छ । 

जापानी संस्थासित सहकार्य 

यो प्रविधि विस्तारका लागि जापानको इकोपार्टी नामक संस्था र नाष्टबीच बिहीबार समझादीपत्र (एमओयु)मा हस्ताक्षर पनि भएको छ । एमओयुमा नास्टका प्रविधि संकाय प्रमुख सुरेशकुमार ढुंगेल र इकोपार्टीका उपाध्यक्ष चित्सेको मुत्सुमातोले हस्ताक्षर गरे । एमाओयुमा इकोपार्टीले नेपालमा प्लास्टिकको व्यवस्थापनका लागि सञ्चालन गर्ने कार्यक्रम र अनुसन्धानमा नास्टसँग सहकार्य गर्ने उल्लेख छ । 

त्यसैअनुरुप इकोपार्टीले नास्टलाई जापानमा प्रयोग भइरहेको प्लास्टिकबाट तेल निकाल्ने प्रविधिको ‘डेमो मेसिन’ हस्तान्तरण गरेको छ । यो मेसिनले तीन घण्टामा एक केजी प्लाष्टिकबाट एक लिटरसम्म तेल उत्पादन गर्न सक्छ । यही डेमो मेसिनबाट नेपालमा प्रयोग भइरहेका विभिन्न प्लास्टिकबाट कसरी कति परिमाणमा तेल उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन गरिने ढकालले बताए । 

यो प्रविधिबाट कच्चा तेल उत्पादन हुन्छ । यसलाई प्रशोधन गरेर डिजेल र पेट्रोल छुट्याउनुपर्छ । ढकालले पोलिथिन मात्र नभएर पोलिइथाइनल लगायतबाट पनि तेल उत्पादन गर्न सकिने जानाकरी दिएका छन् । निकट भविष्यमा नै नाष्टले तीन घण्टामा १० केजी प्लास्टिकबाट १० लिटर तेल निकाल्न सक्ने मेसिन ल्याउने तयारी पनि गरिरहेको छ । त्यसका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च लाग्ने छ । ‘प्लाष्टिकको व्यवस्थापन ठूलो समस्या बनिरहँदा यो प्रविधि सबै नगर क्षेत्रसम्म विस्तार गर्न सकिन्छ’ बरिष्ठ अधिकृत ढकालले भने । 

यो प्रविधिबाट तेल निकाल्दा कुनै हानिकारक ग्यास ननिस्किएको उल्लेख गर्दै उनले भने, ‘यो तेल निकाल्ने प्रविधिबाट खाना पकाउन सकिने ग्यास पनि उत्पादन हुने देखिएको छ । यसको अनुसन्धान पनि हार्मी गर्दैछौ । इथेन, मिथेन लगायतका ग्यास निस्किने भएकाले त्यसलाई सिलिन्डरमा भर्न सकिने अवस्था रहेको उनी बताउछन् । अहिले अनुसन्धान सुरु नभएको त्यस्तो ग्यास पाइपमार्फत बाहिर फालिएको छ । 

प्लास्टिकबाट कसरी निस्किन्छ पेट्रोल ? भिडियो हेर्नुहोस्

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook