– अर्जुन सिंह महेन्द्रनगर, ४ वैशाख । गत चैत ३० गते कञ्चनपुरको महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा भइरहेको सांगीतिक साँझ कार्यक्रममा सुरक्षाका लागि ६ जनाको टोली लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक समुन्द्र पन्त कार्यक्रम स्थल पुगे । २०७२ सालको विदाई र नयाँ बर्षको स्वागतका निम्ती राखिएको सांगीतिक कार्यक्रममा माहोल तात्दै जाँदा कार्यक्रमको सुरक्षा दिइरहेका सहायक निरीक्षक पन्त र तीनका केही जवानमाथि स्टेजमै कुटपिट गरे । कुटपिटमा आधा दर्जन भन्दा बढी मादक पदार्थ सेवन गरेका युवाहरु भएपनि प्रहरीले ति मध्येका दुई जना युवालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पुर्यायो ।
‘डियुटीमा रहेको प्रहरी अधिकारीमाथि नै खुलेआम अपराधिक मानिसकताले कुटपिट र बर्दी च्यातिएकाले तिनीहरुलाई कारबाही हुन्छ भन्नेमा ढुक्क थियौं ।’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–‘तर वैशाख १ गते जिल्ला प्रहरी प्रमुख नै प्रहरीलाई घटनालाई मिलाउन सक्रिय देखिए ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले नै ती युवाहरुको बचाउ गर्दै पीडित प्रहरी कर्मचारीलाई नै घटना मिलाउन व्यापाक दबाब दिएपछि कारबाहीका लागि तयार गरिएको कागजी प्रक्रियालाई च्यातिएको छ ।
पत्रकार सम्मेलनमा एसपी अधिकारी
पक्राउ परेका दुवै जना युवक एमाओवादी निकट थिए । ‘एसपी सापले युवाहरु राजनीतिक भविष्य भएका व्यक्ति हुन भन्दै तिनीहरुसँग हात मिलाउन पीडत प्रहरीलाई आग्रह गरे ।’ एक प्रहरीले भने- ‘त्यो घटनाबाट सबै प्रहरीको मनोबल गिरेको छ ।’ प्रहरीमाथि बर्दीमै हात हाल्दै कुटपिट गरेका युवाहरु छुटेपछि कुटिएका प्रहरी जवान जिल्ला प्रहरी कार्यालय भित्रै भक्कानिएर रोएका थिए ।
प्रहरी सहायक निरीक्षकमाथि भएको घटना सेलाउन नपाउदै शुक्रबार राति महेन्द्रनगर बजार आसपासको क्षेत्रमा प्रहरी चेकिङ्ग प्वाइन्ट थापेर सवारी साधनहरुको चेकजाँच गरि रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदमराज थापामाथि पनि मोटरसाइकल सवार एक युवकले हात हाले ।
‘रक्सी खाएर हाम्रै इन्सपेक्टर साप माथि हात हाल्दै सर्ट च्यातेपछि हामीले ति युवकलाई नियन्त्रणमा लिएर राति नै जिल्ला प्रहरीमा पुर्यायौं ।’ प्रहरी निरीक्षक थापासंगै चेकिङ्गमा खटिएका एक प्रहरीले भने- ‘पक्राउ गरिएका युवक त ल्याएको १ घण्टामै छुटेछन ।’ उक्त घटनामा पनि एसपी अधिकारीले मातहतका प्रहरीलाई विभिन्न डर देखाएर पीडकलाई छाडेको प्रहरी स्रोतले जनाएको छ । ‘डियुटीमै हाकिमहरुमाथि हातपात हुन्छ भने त्यो संगठनमाथि नै हातपात हो ।’ एक प्रहरीले भने- ‘के गर्नु हाकिम गतिलो नभएपछि यस्तै हो ।’
‘प्रहरीलाई डियुटीमै हातपात गर्नेहरुलाई बचाउमा लाग्नुको पछाडी एसपी सापको नियत के हो थाहा भएन ।’ प्रहरी स्रोत भन्छ- ‘अपराधीलाई छोड्दा मुनिका प्रहरी कर्मचारीहरुको मनोबल गिराउने काम भएको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले दुवै घटनालाई सामान्य भएको बताए । ‘मापसे सेवन गरेर प्रहरीसित सामान्य धक्का मुक्का भएको छ ।’ उनले भने–‘दुवै पक्षलाई सहमति गरेर मिलेको हो ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस् :
कञ्चनपुर प्रहरीमा रुवाबासी, एसपी अधिकारीले यो के गरे ?

0 comments
Write Down Your Responses