देशभक्ति मेरो रगतमै छ, कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु पर्दैन : भट्टराई
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो रगतमै देशभक्ति भएको उल्लेख गर्दै आफूलाई राष्ट्रवादीको सर्टिफिकेट कसैले दिनु आवश्यक नभएको बताउनुभएको छ । काठमाडौंमा आज भएको ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा संयोजक भट्टराईले पुर्खाहरुले देशको लागि लडेको स्मरण गर्दै आफ्नो रगतमै देशभक्ति र स्वाधीनता रहेको उहाँले बताउनुभयो । उहाँले अहिलेका शासकहरुले पञ्चायती शैलीमा नै देशभक्तहरुलाई अराष्ट्रवादीको ट्याग लगाइदिने गरेको बताउनुभयो । पञ्चायतको समयमा तत्कालीन कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्ने गरेको र अहिले प्रगतिशील राष्ट्रवादको कुरा गर्दा आफूहरुमाथि वामपन्थको खोल ओडेकाहरुबाट नै अराष्ट्रवादीको आरोप लाग्ने गरेको उल्लेख गर्दै उहाँले आफूलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने बताउनुभयो । नक्कली राष्ट्रवाद भन्दा छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने र नेपाललाई दुई विशाल अर्थतन्त्रको बीचमा गतिशील पुल बनाउनुपर्ने संयोजक भट्टराईले बताउनुभयो । उहाँले अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले वामपन्थी भनिएकाहरु व्यक्तिगत स्वार्थ, भ्रष्टाचार तथा बेथितीमा लिप्त भएकाले आफूले पुरानो पार्टी छोडेको बताउनुभयो । अब हिजोको मानसिकताबाट माथि उठेर नयाँ शक्ति नेपालले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने उहाँले बताउनुभयो । अबको मुख्य एजेण्डा आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गर्दै उहाँले देशभित्रको पूँजी परिचालन तथा लगानीमैत्री वातावरण निर्माण गरेर वाह्य पूँजीलाई समेत भित्रयाएर आर्थिक विकास र समृद्धिमा जान सकिने उहाँले बताउनुभयो ।
संयोजक भट्टराईले भूकम्पपछिको पुन:निर्माण र नवनिर्माणको आशा वर्तमान सरकारबाट गर्न नसकिने बताउनुभयो । भूकम्प गएको एक वर्ष बित्न पुग्न लागेको बेला भूकम्पपीडितहरु अहिले पनि च्यातिएको त्रिपालमुनी नै बस्नुपरेको लाजमर्दो स्थिति रहेकोले वर्तमान सरकारबाट पुन:निर्माण र नवनिर्माणको कार्यभार पूरा हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले संविधान लेखिए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो । राज्यविहिनताको अवस्था रहेको उल्लेख गर्दै उहाँले यो अवस्थालाई तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयो । डा. बाबुराम भट्टराईले जनयुद्ध र संविधानसभा दुबैमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै नेता गिरीले समृद्धिको अभियानमा पनि नेतृत्व लिनुपर्ने बताउनुभयो । तर एक्ला बाबुरामले मात्रै सम्भव नहुने भन्दै उहाँले सबैको साथ र सहयोग रहनुपर्ने बताउनुभयो । त्यस्तै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले व्यंग्यात्मक शैलीमा घरघरमा ग्याँस भएको, मधेशमा आन्दोलन नभएको, महंगी र कालोबजारी नभएको बताउँदै सरकारको आलोचना गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको बोलीले मधेश आन्दोलनमा नुनखुर्सानी थपेको बताउनुभयो । उहाँले नयाँ शक्ति नेपालप्रति आशा रहेको उल्लेख गर्दै सदाचार र नैतिकता कायम राख्न, नातावाद कृपावादबाट मुक्त रहन र जथाभावि मान्छे पार्टीमा प्रवेश नगराउन सुझाव पनि दिनुभयो ।
मनोक्रान्ति अभियानका डा. योगी विकासानन्दले विकास र समृद्धिलाई आत्मिक र आध्यात्मिक विकाससँग पनि जोड्न नयाँ शक्ति नेपाललाई सुझाव दिनुभयो । अभिनेत्री तथा नयाँ शक्ति नेपालको अन्तरिम परिषद् सदस्य करिश्मा मानन्धरले चारैतिरबाट समस्याले घेरिएको अवस्थामा नयाँ सोंचको विकास हुने बताउँदै आत्मनिर्भर भएर देश सबै प्रकारको उत्पीडनबाट मुक्त र आर्थिक रुपले समृद्ध भएको हेर्न चाहेको बताउनुभयो । व्यवस्थापिका संसद् सदस्य गोपाल दहितले हालको संविधान नेपालको राष्ट्रिय एकता कायम राख्ने कुरामा कमजोर रहेको बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायी भोला थापा, नयाँ शक्ति नेपालका अन्तरिम परिषद् सदस्यहरु रामकुमार शर्मा, डा. केशवमान शाक्य लगायतले पनि वैकल्पिक राजनीतिक चिन्तन र नयाँ शक्तिको आवश्यकताका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।


0 comments
Write Down Your Responses