खोटाङ दुर्घटना : यो कारणले भएको रहेछ शर्मिलाले छोरासँग नयाँ बर्ष मनाउन पाइनन्, रेस्माको मलेसिया सपना अधुरै !

काठमाडौं– खोटाङ चेस्मेटारकी शर्मिला राई जाल्पामा निर्माणाधिन ‘ऐसेलुखर्क–सोलु’ सडक खण्डमा कामदारहरुलाई खाना पकाउँथिन् । सोमबार मात्रै उनले काम गरेबापतको ज्याला पाएकी थिइन् । फागुन पाँच गतेबाट सडक मजदुरलाई खान पाकाउने काम गर्न थालेकी राई ज्याला पाएपछी परिवारसँगै नयाँ बर्ष मनाउने मिठो कल्पना ओढेर मंगलबार विहान गाडी चढिन् । दिक्तेलबाट काठमाडौंका लागी छुटेको बा २ ख ६३७६ नम्बरको बस उनी हुलुडबाट चढेकी थिईन् । हलेसी माथि बर्खेटार भन्ने स्थानमा आईपुग्नासाथ उनी चढेको गाडी पल्टियो, परिवारसँगै नयाँ बर्ष मनाउने उनको सपना अधुरै रह्यो । अहिले शर्मिला राजधानीको ट्रमा सेन्टरको बेडमा छिन् । ‘म यसरी कहिल्यै नपरेको मान्छे, थाहै थिएन्’ ट्रमा सेन्टरको इमर्जेन्सि कक्षमा रातोपाटीसँग कुरा गर्दै शर्मिलाले भनिन्, ‘अचानक उचालेको जस्तो लाग्यो, बस चार बल्ड्याङ पल्टिएपछि अगाडीको सिसा फुट्यो त्यहीँबाट हामी निस्केको !’ ‘मेरो आत्माले पहिल्यै थाहा पाएछ, आत्माले झर भन्दै थियो’ शर्मिलाले भनिन्, ‘मैले नजिकै रहेका दाईहरुलाई झरौं भनेँ उहाँहरुले कहाँ झर्ने भनेर मलाई हपारेको एकैछिनमा गाडी पल्टियो ।’ सवैले आ–आफ्नो घरमा गएर नयाँ बर्ष मनाएर वैशाख ४ गते फर्कने भन्दै साथीहरुसँग सल्लाह गरेपछि गाडी चढेकी शर्मिलालई घरमा एउटा छोरा, बाबु, आमा, भाई र बैनिहरु पर्खिरहेका थिए । उनको श्रिमान मलेसिया गएको धेरै बर्ष भैसक्यो । ‘उहाँसँग धेरै भयो सम्पर्क हुन सकेको छैन’ शर्मिलाले भनिन्, ‘त्यसैले पेट पाल्नका लागी म बाटोमा खाना पकाउने काम गर्न थालेको ।’ ०७२ को अन्तीम दिन खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा हालसम्म २४ जनाले ज्यान गुमाएका छन्, दुई दर्जनभन्दा बढी अस्पतालको बेडमा छन् । नयाँ बर्षको पुर्वसन्ध्यामा घटेको दुःखद घटनाको मुख्य कारण साँघुरो र कच्ची बाटो भएको खोटाङका स्थानीयहरुले बताएका छन् । ‘बाट बन्दै थियो, भित्तापट्टि ठेकेदारले ढुंगा थुपारेको छ’ दिक्तेलकी एक युवतीले भनिन्, ‘त्यसरी बाटोभरी ढुंगा नथुपारेको भएपनी यस्तो दुर्घटना ब्यहोर्नुपर्ने थिएन् ।’ खोटाङ बाँसपानीका रेस्मा राई मलेसिया जाने तयारीमा थिए । वैशाख १ गते हुने अन्तर्वार्तामा सहभागी हुन दिक्तेलबाट गाडी चढेका रेस्मा पनि दुर्घटनाको शिकार बने । ‘गाडी चढेको तिन घण्टापछि बर्खेटार पुगेका थियौं, गाडीमा मान्छे खचाखच थिए’ रेस्मा भन्छन्, ‘अचानक सडकको पर्खालमा ठोक्किएको गाडी पर्खाल भत्काएर खस्यो ।’ सडक निर्माण कार्य जारी रहेकाले दिक्तलेबाट थोरै यात्रु चढेपछी बाटोमा छोटो रुढका मान्छे धेरै चढेकालो ओभरलोड भइको रेस्माको भनाई छ । ‘सडक छेउको गाह्रो भत्किएपछि गाडी तल पुग्यो’ रेस्मा भन्छन्, ‘गाडीको सिसा फुटेपछि म माथिनै अड्किएँ ।’ शर्मिला र रेस्मा जस्ता धेरै अस्पतालको बेडमा छन्, जो नयाँ बर्षसँगै रम्न नसकेपनी पुनर्जिवन पाएका छन् । २४ जनाले दुर्घटनामा ज्यान गुमाए, उनीहरुको परिवार गहिरो शोकमा छन् ।

0 comments

Write Down Your Responses

Follow on Facebook