नेपालमा पहिलो बोकेर गाडी भित्र्याउने एक मात्र ज्युदो व्यक्ति धनवहादुर गोले को निधन


पुस २८, २०७२- मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउनेमध्ये एक धनवहादुर गोलेको सोमवार मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार काठमाडौंमा मृत्यु भएको हो । ९२ वर्षीय गोलेको काठमाडौस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो । बि.स २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा बोकेर गाडी भित्र्याउने गरिन्थ्यो । 

दमका रोगी गोलेको उपचारका निम्ति अस्पतालमा चार दिनदेखि राखिएको थियो । उनको मंगलबार बिहान मकवानपुरको चित्लाङमा दाहसंस्कार गरिएको छ । राणा कालमा नेपालमा बोकेर गाडी भित्र्याउने भरियामध्येका उनी एक थिए । ‘गाडी बोक्नेहरुमध्ये उनीमात्र जीवित थिएँ, अब उनी पनि रहेनन्’, चित्लाङका ८६ वर्षीय बावुकाजी मानन्धरले भने । गोलेका २ छोरा र एक छोरी छन् । ‘इतिहासका जिवित साक्षी अब हामीमाझ रहेनन्’, स्थानीय राजेन्द्र बस्नेतले भने । गाडी बोक्ने बुढाको नामवाट परिचित गोले केही महिना अघिसम्म पनि छिमेकीहरुको भारी बोक्ने र बाँसको डोको, नाङ्लो, घुम बनाउने गर्थे । राणाकालमा गोलेले भरियाको रुपमा झण्डै ३० वटा साना गाडी बोकेका थिए । 

‘भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोकेर पुर्‍याउँदा सबै भरियाको दुई जोर चप्पल फाट्थ्यो’, केही अघि कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए, ‘‘सात दिनमै गाडी बोकेर काठमाडांै पुर्‍याएबापत हाम्रो टिमलाई नाइकेमार्फत एक जना राणाले ६० आना बक्सिस दिएका थिए ।’ गोले चन्द्रागिरीको काखमा रहेको चित्लाङ गाविस–१ भण्डारखर्कस्थित नातिनीको घरमा बस्दै आएका थिए । उनको बलियो शरीरका कारण त्यो बेला चित्लाङवाट गाडी बोक्न नाइकेले उनलाई रोजेर लगेका थिए । करिब पौने ६ फिट उचाई रहेका गोलेले २०/२१ वर्षको उमेरदेखि गाडी वोक्न थालेका थिए । पहिलो पटक उनले ६४ जनाको टिममा साना गाडी बोकेका थिए । त्यो बेला भरिया र नाइकेहरुले ८–८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६–१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४–२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे । 



भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्दागिरी हुदै काठमाडौं गाडी बोकेर पुर्‍याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो। गाडी बोकेवापत प्रतिव्यक्तिले बढीमा ५ आना पाउँथे । बि.स.२०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी छिराउने परम्परा छुट्यो । विगतमा गाडी बोकेर राजधानी प्रवेश गराउने भरियाहरुको थातथलो मार्खु, कुलेखानी र चित्लाङ भएपनि गाडी बोक्नेहरुमध्ये अब कोही पनि जीवित छैनन् ।

,

0 comments

Write Down Your Responses

Follow on Facebook