के तपाई बैदेशिक रोजगारीको लागि दुबई जादै हुनु हुन्छ ? हुनु हुन्छ भने दुबईमा के-के गर्नु हुँदैन ? हेर्नुस् १५ बुँदे आचारसंहिता

यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईले आगामी फेब्रुअरी महिनालाई सचेतना महिनाका रुपमा मनाउने निर्णय गरेको छ । एनआरनए युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा नेपाली दूतावासमा जनवरी ८ तारिखमा बसेको तेस्रो बैठकले आगामी महिनालाई जनचेतना जगाउन विभिन्न इमिरेट्समा कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘हेल्थ एन्ड सेफ्टी अवरनेस’ कार्यक्रम फेब्रुअरी महिनाको चारवटै शुक्रबार विभिन्न स्थानमा आयोजना गर्ने अध्यक्ष कार्कीले अनलाइनखबरलाई जानकारी दिए । 

यस कार्यक्रमलाई नेपाली दूतावासलेे समन्वय गर्नेछ । यूएईमा नेपाली कामदारहरुको मृत्युदर बढ्दै गएको, सुतेको ठाउँमै नेपालीहरु मृत अवस्थामा फेला परेको, सवारी दुर्घटना तथा मानव तस्कर अधिक रुपमा बढ्दै गएको, नेपाली महिला दिदीबहिनीलाई शारीरिक तथा मानसिक पीडा दिने क्रम दिनप्रतिदिन बढ्दै गएकाले जनचेतनामूलक कार्यक्रम गर्न अत्यावश्यक भएको बैठकले ठहर गरेको छ । 

यूएईबासी नेपालीहरुमा मादक पदार्थको सेवन गर्ने बानी बढी भएको, मदिरा सेवन गरी सवारी चलाइएको तथा साथीभाइसँग झगडा गरी गम्भीर दुर्घटना भएको, खानपानमा उचित ध्यान नदिएका कारण धेरै नेपालीहरु रोगी पाइएको विषयमा बैठकमा गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष कार्कीले बताएका छन् । 

‘हेल्थ एन्ड सेफ्टी अवरनेस’ कार्यक्रमअन्तर्गत फेब्रुअरीको पहिलो शुक्रबार रासअल खेमा र फुजेरामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ । त्यसरी नै दोस्रो शुक्रबार अजमान, साहजहा र अलऐन, तेस्रो शुक्रबार दुबई र अन्तिम शुक्रबार अबुधाबीमा जनचेतना कार्यक्रम गरिनेछ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको अवरनेस समितिको सहकार्यमा ७ वटै क्षेत्रका क्षेत्रीय अध्यक्षहरु रहने गरी जनचेतना जागरण गर्ने जनाइएको छ । यूएई सरकारबाट प्रतिबन्ध लगाइएका केही पनि काम गर्न र गराउनु गैर कानुन रहेको हुँदा यूएई सरकारको नियम कानुन मिचेर कुनै पनि अवैधानिक काम नगर्न तथा यूएई प्रवेश गर्दा वा काम गर्दा युएईको नियम कानुनको परिधिभित्र रही काम गर्न बैठकले सर्वसाधारणलाई आग्रह गरेको छ । 

बैठकमा सहभागीहरुले बाटो काट्ने क्रममा जेब्रा क्रसको प्रयोग नगर्दा अत्यधिक नेपालीहरु जरिवानामा परेको र दुर्घटनामा ज्यानसमेत जाने गरेकाले सचेतना जगाउन आवश्यक रहेको बताएका थिए । पछिल्लो समयमा फेसबुक, ट्वीटर, लगायतका सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति पनि एनआरएन यूएईको गम्भीर ध्यानाकर्षण भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता प्रमुख समस्याहरुको न्यूनीकरण गर्ने हेतुले निम्न बुँदाहरुमा केन्द्रित रहेर अवरनेस कार्यक्रम गर्ने जानकारी एनआरएन यूएईले गरेको छ । 

१) यूएई सरकारको धर्म वा अरु कुनै धर्मको अपहेलना र बर्खिलाप गर्न पाइने छैन । 

२) यूएई सरकारको मुख्य पर्व रमजान वा रमदानको समयमा निषेधित समय अवधिभरि वा रोजा नखुलेसम्म कुनै पनि चिज खुल्लारूपमा बाहिर खान पाइने छैन । 

३) हरेक महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेछ । कुबिचार वा कुदृष्टि राखी कुनै पनि काम गर्नु दण्डनीय हुनेछ । 

४) लोभलालचमा परी लामो हात गर्ने वा चोरी गर्ने अथवा चोर्ने मनसायले कुनै पनि क्रियाकलाप समेत गर्नुहुँदैन । किनकि यहाँ उच्च प्रविधियुक्त सिसी क्यामेराबाट मनिटरिङ गरिन्छ । 

५) निश्चित एरियाभन्दा बाहिर जतासुकै खुल्लारूपमा धुम्रपान गर्न पाइँदैन । खैनी, सुर्तीजन्य बस्तु, पराग र गुटखा निषेध छ । खाँदा सावधानी अपनाउनुपर्ने छ । 

६) सबै प्रकारका मादक प्रदार्थ, रक्सी, अल्कोहल निषेधि भएको हुनाले खुल्लारुपमा खान पाइने छैन । 

७) रक्सी वा मादक प्रदार्थ सेवन गरी होस गुमाई, सानो कुरामा आवेशमा आई साथीभाइहरुसँग झगडा गर्नुहुँदैन । सानो गल्तीले गर्दा ठूला कानुनी समस्यामा पर्न सकिन्छ । 

९) कुनै अपरिचित ब्यक्तिको भनाइमा लागि आपराधिक घटना हुन गयो वा खराब काम गर्ने मनसाय राखी कसैलाई साथ सहयोग गरेमा पनि परिबन्धमा पर्न गई भवितव्य हुन गएमा पनि कानुनी फन्दामा परिन्छ । 

१०) काम गर्दा जहिले पनि ‘सेफ्टी फस्ट’ भन्ने अवधारणालाई अपनाउनु पर्छ । अत्यधिक गर्मीको समयमा घाममा बढी काम गर्नु हुँदैन । बढी गर्मीमा काम गरी एकैचोटी बढी चिसो एसीमा बस्नुहुँदैन । हृदयघातको खतरा हुन जान्छ । 

११) बाटो क्रस गर्दा ट्राफिक नियमको पालना गरी जेब्रा क्रसिङ वा ओभरव्रिज तथा सबवेबाट मात्र आवत-जावत गर्नु पर्नेछ । गलत तरिकाले बाटो पार गरेमा दुर्घटनाबाट बचे पनि जरिवानामा समेत पर्न सकिन्छ । 

१२) सार्वजनिक चोक वा कुनै पार्कमा प्रेमीप्रेमिकाको रूपमा कुनै अश्लील क्रियाकलाप गर्न पाइने छैन । 

१३) सार्वजनिक यातायात, बस, मेट्रो आदिमा यात्रा गर्दा कुनै पनि चिज खान पाइने छैन । 

१४) भाषागत अभावमा पनि समस्या आउन सक्छ । यहाँको अरबी भाषा जाने धेरै राम्रो नभए पनि कम्तीमा अंग्रेजी वा हिन्दी भाषाको सामान्य जानकारी राख्नु आवश्यक छ । 

१५) सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउनु पर्नेछ । सामाजिक सञ्जालको दुरुपयोग गर्नुहँुदैन । अपरिचितसँग फेसबुकमा कुरा गर्नुहँुदैन । यहाँको नियम, धर्म, परम्पराबिरुद्धको कुनै पनि पोस्टमा लाइन, कमेन्ट वा सेयर गर्नु अपराध मानिन्छ । यस्ता कुरामा सचेत रहन सबैले अत्यावश्यक छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook