बहराईनलाई हराउँदै नेपालले २३ वर्षपछि फुटबलमा पहिलो उपाधि ५४ लाख रुपैयाँ नगद जित्यो


काठमाडौं, माघ ८ – नेपालको सिनियर राष्ट्रिय टोलीले २३ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार बेलुकी भएको खेलमा बहराईनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै नेपालले बंगबन्धु गोल्डकप जितेर २३ वर्षपछि पहिलो उपाधि उचालेको हो । नेपाललाई उपाधि जिताउन बिमल घर्ती मगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरे । बिमलले खेल सुरु भएको चौथो मिनेटमा नै गोल गरेर नेपालाई अग्रता दिलाएका थिए । यस्तै ८७ औं मिनेटमा राईले र इन्जुरी समयमा श्रेष्ठले गोल गरे । श्रेष्ठले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेका थिए । 

यसअघि नेपालले सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यतिबेला ढाकामै भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको नेपालले २३ वर्षपछि ढाकामा नै बहराईनलाई हराएर उपाधि जितेको हो । सन् १९९३ पछि नेपालको सिनियर राष्ट्रिय टोलीले कुनै उपाधि जितेको थिएन । 

उपाधि विजेतालाई ५४ लाख रुपैयाँ नगद 

आयोजक बंगलादेशको फुटबल संघले बंगबन्धु गोल्डकपको उपाधि जित्ने टिमलाई ५० हजार अमेरिकी डलर अर्थात ५४ लाख २० हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरेको छ । उपविजेता टिमले भने २५ हजार अमेरिकी डलर अर्थात २७ लाख १० हजार रुपैयाँ मात्र पायो । यस्तै बंगबन्धु गोल्डकपको नक्कल ट्रफी पनि विजेताले पाएको छ । २२ क्यारेट सुनबाट बनेको ट्रफी भने आयोजकले नै राखेको छ । 

यसअघिका प्रतियोगितामा आयोजकले विजेतालाई असली ट्रफी दिन गरेपनि नगद पुरस्कार दिँदैनथियो । तर आयोजकले प्रतियोगितामा लागेको खर्च भने टिमलाई दिने गरेको थियो । 

अहिलेका प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबर रहमानको सम्मानित नाम बंगबन्धुको नाममा बंगलादेशको फुटबल संघले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् १९९६–९७ मा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिताको यस पटक चौथो संस्करण भएको हो । सुरुका २ संस्करणपछि रोकिएको प्रतियोगिता आयोजकले पोहोरदेखि वर्षेनी आयोजना गर्ने भन्दै पुन सुरु गरेको हो । 



राखेपले जनही २ लाख दिने 

उपाधि जितेसँगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उपाधि जिते खेलाडीलाई जनही २ लाख दिने घोषणा यसअघि नै गरिसक्नु भएको थियो । यस्तै सरकारका तर्फबाट र अखिल नेपाल फुटबल संघले पनि खेलाडीलाई नगद पुरस्कार दिने तयारी गरेका छन् । तर पुरस्कार रकम भने घोषणा भएको छैन ।

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook