बिना मगरलाई भेट्न जाँदा यसरी पक्राउ परेका हुन् वीरेन्द्र

– वीरेन्द्र बस्नेत (वीरेन्द्र बस्नेत मोहन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन् । युद्धकालमा चर्चित भैरवनाथ गणमा सत्र महिना बिताएका बस्नेतलाई जेल जीवनको अनुभवका विषयमा केन्द्रित रहि दैनिक नेपाल डटकमका लागि मनोज खतिवडाले गरेको कुराकानीमा आधारित) पहिलोपटक पक्राउ पर्दा म जम्माजम्मी १७ वर्षको थिएँ । २०५७ सालमा हड्तालको पोष्टर टाँस्दाटाँस्दै घट्टेकुलोबाट पक्राउ परें । काठमाडौं आएर राम्रोसंग अध्ययन गरि भविष्य बनाउने सोँच थियो । तर परिस्थितीले गर्दा राजनीतिमा लागियो । त्यसबेला मलाई ३ दिनसम्म हनुमानढोका हिरासतमा राखियो । समय नै यस्तो थियो कि गिरफ्तार भएका माओवादी कार्यकर्तालाई कुट्ने, पिट्ने कार्यको कुनैसीमा नै थिएन । बेस्सरी पिटाइ खाइयो हनुमानढोका हिरासतमा । दोश्रो पटकचाहिँ जन्मदिनकै दिन दिदीको घरबाट पक्राउ परें म–२०५८ सालमा । कान्छो भाइ धिरेन्द्र र मलाई दुईमहिना हनुमानढोका हिरासत र १३ महिना जेलमा राखियो । त्यसपटक पनि भयंकर यातना दिइयो । पिटाइको कुनै सीमारेखा नै थिएन, मानसिक यातना त्यस्तै हुन्थ्यो । कहिलेकाहीँ जंगलमा लगेर मार्ने धम्की दिनेजस्ता मानसिक यातनाका सम्झनाहरुपनि प्रशस्तै छन् । राज्यआतंकले पराकाष्ठा नागेको युग न थियो–मर्ने बाँच्ने कुनै ठेगान नै हुन्न थियो । सबैभन्दा कहालिलाग्दो र अझै सम्झँदापनि छटपटाहट हुने गिरफ्तारी चाहिँ २०६० सालमा भयो । भैरवनाथ गणमा लगिएरपनि संयोगले बाँचेको मान्छे, म । २०६० सालको भदौ ११ गते हाम्रो कमाण्डर बिना मगरलाई भेट्ने सांगठनिक काम लिएर म कपन गएको थिएँ । पसलमा गएर उहाँलाई पेजर गर्दागर्दै वलराम यादव भन्ने आफ्नै साथीको अन्तर्घातले हामी पक्राउ परियो । यादवको कर्तुत धेरैपछि मात्र खुल्यो । हामी ३ जना थियौँ । म पेजर गर्दै थिएँ । दुइजना साथीहरु पसल बाहिर टहल्दै हुनुहुन्थ्यो । एक्कासि गाडीमा ३५, ४० जनाको संख्यामा सिभिल ड्रेसमा रहेका प्रहरीहरु आइपुगे । हामीले के गर्ने के नगर्ने निर्णय गर्न नपाउँदै उनीहरुले हामीलाई नियन्त्रणमा लिए । हामीलाई हतकडी लगाइयो । आँखामा ज्याकेट बाँधिदिए । र अज्ञात स्थलतर्फ लगेर गए । गाडीमा छौं, आँखामा पट्टि छ ज्याकेटको । भुँइमा लडाएर बुटले किल्चिँदै र मुखमा आएसम्म अपशब्द बोल्दै अत्यन्त अमानवीय ढंगले हामीलाई कतै लगिँदै छ । २०६० सालको भदौ ११ गते हाम्रो कमाण्डर बिना मगरलाई भेट्ने सांगठनिक काम लिएर म कपन गएको थिएँ । पसलमा गएर उहाँलाई पेजर गर्दागर्दै वलराम यादव भन्ने आफ्नै साथीको अन्तर्घातले हामी पक्राउ परियो । यादवको कर्तुत धेरैपछि मात्र खुल्यो । हामी ३ जना थियौँ । म पेजर गर्दै थिएँ । दुइजना साथीहरु पसल बाहिर टहल्दै हुनुहुन्थ्यो । पहिल्यै दुईपटक पक्राउ परिसकेकाले म यातनाको सामना गर्ने मानसिकता बनाउन लागें । कुनै हालतमा युद्ध मैदानमा रहेका आफ्ना प्रिय कमरेडहरुको सुचना यिनीहरुलाई दिनुहुन्न भन्नेमात्र खेलिरह्यो मनमा । केही समयको यात्रापछि उनीहरुले हामीलाई गाडीबाट ओराले । र तीनजनालाई छुट्टाछुट्टै कोठामा लगे । केही बेरमै केरकारको श्रृङ्खला शुरु भयो । मैले पार्टीको सूचना चुहाउन मानिन । प्रत्येक प्रश्नको उत्तरमा थाहा छैन भन्थें म । त्यसपछि असैह्य हुनेगरी पिट्न शुरु गरे उनीहरुले । पिट्नेपनि कसरी भने डोरीको लठ्ठो बनाएर पिट्थे । त्यसरी पिट्दा भित्रसम्मै दुख्थ्यो । सिलिङमा झुण्ड्याइएको फ्यानजस्तो वस्तुमा खुट्टा झुण्ड्याइदिन्थे र त्यो क्रम मान्छे बेहोस नहुन्जेल जारी रहन्थ्यो । करेन्ट लगाउने, १८ घण्टामा बल्लतल्ल आधा पेट खान दिने, समयमा दिसापिसाब गर्न नदिनेजस्ता सजाय नियमित थिए । एकपटक ट्वाइलेट जाँदा भेन्टिलेसनबाट मैले देखें कि त्यो ठाउँ सामाखुसीको प्रहरी हेर्डक्वार्टरभन्दा पछिल्तिरको भाग थियो । त्यहाँ उनीहरुले चरम यातना दिएर एक हप्तासम्म राखे । एकदिन सायद त्यो बेलुकाको समय हुनुपर्छ उनीहरुले हामीलाई गाडीमा राखे । मलाई लाग्यो आज नै हाम्रो अन्तिम दिन हो । उनीहरुले या भाग्न लगाएर पछाडिबाट गोली हान्नेछन् या जंगलमा लगेर गोली ठोकेर मार्नेछन् भन्नेमा म ढुक्कजस्तै थिएँ । आमालाई सम्झें, परिवारलाई सम्झें, पार्टीका सम्पूर्ण साथीहरुलाई एकएक गरि सम्झिँए र मर्न तयार भएँ । त्यसभन्दा अर्को कुनै बिकल्प नै थिएन । कति सजिलै मृत्यु् स्विकाथ्र्यौँ हामी । हामीलाई पट्टि लगाएरै गाडीबाट ओराले उनीहरुले । बाहिर सिमसिम पानी परिरहेको थियो । मौसम चिसो थियो । हिँड्दा छप्लाङ छप्लाङ आवाज आउँथ्यो । कतै जंगल हो कि भन्नेपनि लाग्यो । तर एकैछिनमा हामीलाई एउटा हलभित्र छिराए । बोली गुञ्जायमान हुने भएर हामीलाई त्यो हल नै हो भन्ने लाग्यो । हलभित्र पुगाएपछि लात्तिले हानेर सबैलाई भुइँमा लडाएर त्यसै छाडिदिए । त्यसदिन चुपचाप सिमेन्टको चिसो भुइँमा सुतेर नै रात कटायौं । ड्युटीमा बस्नेहरुको बोल्ने शैलीबाट हामीलाई आर्मी ब्यारेकमा ल्याइएको हो भन्नेसम्म मैले अनुमान लगाएँ । ब्यारेकको कहालिलाग्दो र कष्टकर भोगाइबाट म यति भन्न सक्छु की मान्छेहरुमाथि त्यति धेरै अत्याचार र यातना संसारमा कँहिपनि भएन होला । २० घण्टाको फरकमा भोको पेटलाई जिस्काउने गरिमात्र थोरै खाना दिने, समयमा कहिल्यै पिसाब फेर्न नदिने, समयमा पानी खान नदिने त नियमित र अनिवार्य कार्य थिए । हात पछाडि लगेर हतकडी लगाइएको छ, चिसो सिमेन्टमा सुताइएको छ । न ओड्ने छ न ओछ्याउने छ । दैनिक करेन्ट लगाइन्थ्यो । एक घण्टा उभ्याउने, एक घण्टा बसाउने अनि जम्माजम्मी आधाघण्टामात्र सुत्न दिने । त्यसो गरेपछि निदाइएकै हुँदैनथ्यो फेरि आधि घण्टाजति पछि उठाइहाल्ने । दैनिक यातनाका तौरतरिका अत्यन्त क्रुर थिए । महिनौं बिते यसरी । भैरवनाथ गणमा एकजना भवनाथ भन्ने साथी हुनुहुन्थ्यो । उहाँका श्रीमान श्रीमतीलाई नै गिरफ्तार गरिएको थियो । कहिलेकाँहि सेनाले के सम्म गथ्र्यो भने हामी सबैलाई वरिपरी राखेर उहाँहरुलाई शारीरिक सम्पर्क गर्न समेत लगाउने । समग्रमा यातनाका कुनै कसर बाँकी राखिएन भैरवनाथ गणमा । यसको मतलब सबै सैनिकहरु क्रुर थिए भन्ने होइन । एकदिन घण्टौंसम्म एकजना व्यक्तिलाई बाहिर पिट्ने, यातना दिने गरे । कैदीको चिच्चाहट मेरो कानमा परिरह्यो । त्यहि क्रममा मलाई एकजना आर्मीले कोट्याएर बाहिर निकाल्यो । बाहिर लगेर आँखाको पट्टि खोलिदियो । अघिदेखि यातना दिएर चिच्याइरहेको व्यक्ति पल्टिरहेको थियो । त्यसपछि ‘यसलाई चिन्छस्’ भनेर मलाई सोधे । मैले चिच्याइरहेको त्यस व्यक्तिलाई हेरें । त्यो व्यक्ति मेरो माहिलो दाइ पुष्पराज बस्नेत हुनुहुँदो रहेछ । उहाँलाई पनि समातेर ल्याइएको रहेछ । उनीहरुले दाइको आँखाको पट्टी खोलिदिए । र मलाई दाइकै अगाडि यातना दिन शुरु गरे । ‘पार्टीका गतिबिधी भन्छस् कि तेरो भाइलाई मारिदिउँ’ भन्दै पानी भरिएको अलकत्रा भर्ने ड्रममा टाउको मुनि र खुट्टा माथि गरेर डुवाए । ड्रमको पानी यति फोहोर थियो कि त्यो डुङ्डुङ्ती गनाइरहेको थियो । कतिपटक पानी पिइन्थ्यो । म बेहोस नहुँदासम्म यातना दिइरहे । धेरैबेरपछि व्युझँदा कोठाभित्र मलाई लडाइएको रहेछ । त्यस्तो अवस्थामा पनि हातको हतकडी र आँखाको पट्टी खोलिएको थिएन । एउटै हलमा राखेपनि दाइलाई कहाँ राखिएको थियो मलाई थाहा थिएन । ट्वाइलेट पठाउँदा उनीहरुले एकैचोटी धेरैजना पठाउँथे । संयोगवश एकदिन ट्वाइलेटमा पुष्प दाइसंग भेट भयो । दाइको अवस्था कस्तो थियोभने उसका कुनैपनि नङ थिएनन् । नङमा पिनले घोचेकाले सबै नङ पिप भरिएका थिए । चुट्दा बगेको रगतले गर्दा पछाडि ढाडमा उसको सर्ट टाँसिएको थियो । मैले टाँसिएको ठाउँबाट बिस्तारै सर्ट निकालिदिएँ । त्यसपछि धेरैबेर दाजुभाइ अङ्गालो मारेर बसिरह्यौं । कतिबेला दुवै दाजुभाइका गह भरिएछन् थाहै भएन । दुवैका आँखाबाट आँशु वर्षिए । दाइले अन्तिममा ‘हिम्मत हार्नुहुँदैन, हामीले जित्छौं, भ्यालीबाहिर साथीहरुले एकपछि अर्को मोर्चा जित्दैछन्’ भनेर त्यस्तो अवस्थामा पनि मलाई हौसला दिनुभयो । र त्यो नै दाइसंगको अन्तिम भेट भयो । दाइलाई भेटेको केहि दिनपछि खाना खाने बेलामा ‘आज नुन न खा है’ भन्यो एउटा सिपाही आएर । मैले ‘किन ?’ भनेर सोधें । ‘तिमीहरु दाजुभाइ मर्दा छाक छाड्दैनौ ?’–उसले भन्यो । ‘के भयो र त्यस्तो ?’–मैले अत्तालिँदै सोधें । ‘तेरो दाइलाई मारियो नि आज । भर्खरै हामीले मारेर आयौं’–उसले सजिलैसंग जवाफ दियो । २० घण्टामा दिइने खाना लिएर आउने सिपाही तेरो दाइलाई मारेर आएको भन्दै छ । मेरा आँशु बर्सिए । थालभरि ताता आँशुका ढिक्का खसे । म चुपचाप एउटा कुनामा गएँ र लामो सुस्केरा हालें । केहि दिनपछि ब्यारेकका केहि मनकारी सिपाहीहरुसंग बुझ्दा मेरो दाइ र भाइलाई समेत शिवपुरीमा लगेर अत्यन्त विभत्स ढंगले हत्या गरेछन् । त्यही हत्याकाण्डपछि असैह्य भएर कैंयौ सिपाहीहरुले जागिर समेत छाडेका रहेछन् । तिनै सिपाहीहरुले बताए अनुसार गोली हानेपछि छट्पटाउँदा छट्पटाउँदैका मान्छेहरुलाई आगोमा हालेर हत्या गरिएको रहेछ । म चुपचाप एउटा कुनामा गएँ र लामो सुस्केरा हालें । केहि दिनपछि ब्यारेकका केहि मनकारी सिपाहीहरुसंग बुझ्दा मेरो दाइ र भाइलाई समेत शिवपुरीमा लगेर अत्यन्त विभत्स ढंगले हत्या गरेछन् । त्यही हत्याकाण्डपछि असैह्य भएर कैंयौ सिपाहीहरुले जागिर समेत छाडेका रहेछन् । जेलमा यातनाको असर कस्तोसम्म भयोभने उचित भिटामिन र प्रोटिनको अभावमा वान्ता हुने, जिउ सुन्निने, छाद आउने हुन्थ्यो– हामीलाई । त्यस्तो अवस्थामा यदि यही जिन्दगी बाँच्छौ कि मर्छौ भनेर हामीलाई सोधिन्थ्यो भने हामी सबैजना मर्न तयार हुन्थ्यौं । यातना र खानाको अभावले म पनि एकदम नाजुक अवस्थामा पुगें । साथीहरुले बताएअनुसार एक हप्तासम्म त म बेहोस नै भएछु । हप्तादिनसम्म पनि नमरेको भएर उनीहरुले मलाई हस्पिटल लगेछन् । आज फर्केर हेर्दा हस्पिटल लगिनु नै म बाँच्ने कारण थियो । हस्पिटलमा मलाई एकजना परिचितले देखेर मेरो अवस्थाका बारेमा आइसिआरसीलाई बताएछन् । आइसिआरसीका प्रतिनिधीहरुले मलाई भेटे । त्यो संस्थाले भेटेका बन्दीहरुलाई मार्न नमिल्ने भएर मलाई मारिएन । त्यसक्रममा म सत्र महिना भैरवनाथ गण, एक महिना शिवपुरी गण र एक महिना राजदल व्यारेक लगनखेलमा बसें । व्यारेकमा यदि देशका कुनै लडाइँमा सेनाले हार्यो भने हामीलाई दिइने यातना बढाइन्थ्यो । भैरवनाथ गणमा एकजना भवनाथ भन्ने साथी हुनुहुन्थ्यो । उहाँका श्रीमान श्रीमतीलाई नै गिरफ्तार गरिएको थियो । कहिलेकाँहि सेनाले के सम्म गथ्र्यो भने हामी सबैलाई वरिपरी राखेर उहाँहरुलाई शारीरिक सम्पर्क गर्न समेत लगाउने । समग्रमा यातनाका कुनै कसर बाँकी राखिएन भैरवनाथ गणमा ।

0 comments

Write Down Your Responses

Follow on Facebook