बलात्कारीलाई छुटाउन किर्ते कागज बनाउने बीर अस्पतालका सरकारी नुन खाने भातमारा ३ कर्मचारी पक्राऊ



६ माघ, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका एक व्यक्तिलाई छुटाउन किर्ते कागज बनाउने बीर अस्पतालका तीन कर्मचारीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कलंकीका ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, सिन्धुपाल्चोकको पाङ्ग्रेटार १ घर भइ हाल काठमाडौंको काँडाघारी बस्ने ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना, ललितपुर उपमहानगरपालिका २७ सुनाकोठीका ५० वर्षीय राजेशकुमार कार्की र सिन्धुपाल्चोकको बतासे गाविस ३ घर भइ हाल काठमाडौंको काँडाघारी बस्ने ६२ वर्षीय केदारनाथ पराजुली (रामप्रसाद) छन् । 

अर्याल बीर अस्पतालको सेवा आयोग सचिव (सातौं तह)का कर्मचारी हुन् । यसैगरी तिमल्सिना सातौं तहका रेडियोग्राफर र कार्की बीर अस्पतालको इमरजेन्सी नर्स एड पाँचौ तहका कर्मचारी हुन् । पराजुली भने बलात्कार अभियोगमा कैद सजाय भोगिरहेका उद्धव नेपालका ससुरा हुन् । उनीहरुले जबरजस्ती करणी मुद्दामा दुई बर्षदेखि काठमाडौंको जगन्नाथदेवल कारागारमा कैद सजाय भोगीरहेका सिन्धुपाल्चोकको मानेश्वाराका उद्धव नेपाललाई मुक्त गराउन अस्पतालबाट किर्ते कागज बनाएका थिए ।

उद्धवले २०७० साल असार ५ गते बलात्कार गरेका थिए । तर, उनीहरुले असार ४ गतेदेखि नै एपेन्डिसाइडको अप्रेशन गरी अस्पतालको बेडमा भर्ना रहेको भन्ने व्यहोराको कीर्ते कागजात बनाई पुनरावेदन अदालत पाटनमा पेश गरी उद्धवलाई छुटाउन खोजेका थिए । अदालतबाट सो व्यहोराको पत्रबारेमा अस्पताल प्रशासनमा बुझ्दा किर्ते कागज बनाएको पत्ता लागेपछि उनीहरुलाई पक्रेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook