काठमाडौँः केपी ओलीलाई बालुवाटारबाट निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ ‘प्रचण्ड’ कार्ड फ्याकेका थिए । त्यो कार्डलाई एमाओवादीले एकरात पेरिसडाँडा राखिदियो । बुधबार बिहानै पेरिसडाँडाले देउवाको कार्डलाई पास गरेर सार्वजनिक गरेपछि एकाएक राजनीतिक घटनाक्रम तात्यो ।
त्यही कार्ड हो बुधबार एमाओवादीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न गरेको औपचारिक निर्णय । एमाओवादीको निर्णयले बुधबार दिनभर नेपालको राजनीति तात्यो ।
देउवा प्रचण्डलाई प्रयोग गर्न सकेकोमा खुशी साट्न थाले । उनी तत्काल मधेसी मोर्चाका नेतासँग छलफलमा पुगे । मोर्चाका नेताले सत्ताको भाग पाए ओलीविरुद्धको गठबन्धनलाई सहयोग गर्ने आश्वास दिए ।
देउवाको कदम लगत्तै मोर्चाका नेताले मन्त्रीपद खान ‘र्याल’ चुहाए । यो कुराले प्रफुल्ल भएका देउवाले ओलीविरुद्ध खाली कागजमा हस्ताक्षर गर्ने अभियानको सुरुवात आफैँबाट गरे । यसले बुधबार बालुवाटारमा खैलाबैला भयो ।
देउवाको जालमा प्रचण्ड
बुधबार दिनभर प्रचण्ड देउवाको जालमा परे । बिहानै पार्टी बैठक बोलाएर आफू प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै खुशी साटे । एमाओवादी नेताले प्रचण्डको खुशीमा दाँत देखाइदिए । त्यसकै परिणाम हो, एमाओवादीको बुधबारको विज्ञप्ती ।
‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी कार्यभार पूरा गर्न प्रस्ताव गरेको छ’, भन्ने शब्द विज्ञप्तिमा राखेर प्रचण्डले कांग्रेसले उचालेको प्रष्ट पारे । तर, देउवाको जालमा प्रचण्डले हठातमा गरेको निर्णय लामो समय टिक्न सकेन ।
नेपाली राजनीतिका खेलाडी देउवाको कुटनीतिलाई प्रचण्डले बुझ्न नसक्दा बुधबार दिनभर नयाँ बाटोमा दौडिएका प्रचण्ड बिहीबार ‘साइज’ मा आए । अघिल्लो दिन गरेका सबै निर्णयबाट प्रचण्ड पछि हटिहाले । छिटो विश्वास गर्ने अनि फ्लप भइहाल्ने प्रवृत्तिलाई निरन्तरता दिएका प्रचण्डले बिहीबार सच्याए । प्रचण्डको बिहीबारको निर्णयले देउवाले दिल्लीबाट ल्याएको जाली चुँडिएको छ ।
दिल्लीको योजनामा देउवाले ल्याएको प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि ओली नेतृत्वको सरकारले कम्तिमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउने भएको छ । ओलीलाई विस्थापित गर्ने देशी विदेशी चलखेलबाट एक पटक नेपालको सम्पूर्ण राजनीति नै बचेको छ ।
लाजिम्पाटमा देउवा फ्लप
बिहीबार बिहान बिमलेन्द्र निधी र अमरेशकुमार सिंहलाई लिएर देउवा प्रचण्ड निवास लाजिम्पाट पुगे । प्रचण्डसँगको छलफलमा व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गरेर ओली सरकार गिराउने कि जबरजस्ती पेलेर राजीनामा गराउन बाध्य पार्ने ? भन्ने दुई विषयमा छलफल भएको थियो ।
कांग्रेसले अघि सारेका छलफलका दुई बुँदा सुन्नेबित्तिकै प्रचण्ड हच्किए । ‘अहिले सरकार ढाल्ने प्रस्तावले राजनीतिक अस्थिरता बढ्छ,’ प्रचण्डले भने ।
प्रचण्डको कुरा सुन्ने बित्तिकै देउवाले भने, ‘कांग्रेसले अविश्वासको प्रस्ताव गर्दैन । गठबन्धन ढाल्न प्रचण्डजी तपाईले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुहोस् । हामी समर्थन गर्छौँ ।’
देउवाको कुरा सुनेपछि प्रचण्डले ओली सरकार पल्टाएर सत्तामा पुग्दा आइपर्ने राजनीतिक संकटको दोष बोक्ने आँट नगरेनन् ।
जवाफमा प्रचण्डले भने, ‘अहिलेको अवस्थामा हामी अगाडि सरे देश राजनीतिक अस्थिरतामा जान्छ र त्यसको सम्पूर्ण दोष एमाओवादी एक्लैले लिनुपर्छ । सत्ताको खेलमा तपाईं नै लाग्नुहोस् ।’
अघिल्लो दिन प्रधानमन्त्री बन्न हौसिएका प्रचण्ड ‘ब्याक’ हुनुमा पार्टीभित्रकै केही नेताको चर्को दबाब परेको एमाओवादी स्रोतको दाबी छ ।
अविश्वासको प्रस्तावले संसद्मा विवाद हुने र मुलुक अस्थिरतातर्फ जाने भन्दै प्रचण्डले घुमाउरो शैलीमा देउवाको डिजाइनलाई अस्वीकार गरेका हुन् ।
प्रचण्ड ब्याक हुँदा बुधबार पास भएका देउवा बिहीबार फेल भए । देउवामात्र होइन भारतले ओली सरकारलाई उडाउन प्रयोग गरेको पंखा समेत चुडियो ।
देउवाको साथमा अमरेशकुमार
सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रियताका विषयमा विवादास्पद अभिव्यक्ति दिदै हिँडेका अमरेशकुमार सिंहलाई देउवाले प्रयोग गर्न थालेका छन् । देउवाले सिंहलाई प्रचण्ड निवासमा पुर्याएपछि कांग्रेसको योजनामा भारतीय संलग्नता रहेको आशंकाले माओवादी नेता झनै झस्किए ।
पार्टी निर्णय र नेतालाई चुनौती दिदैँ मधेस पुगेर राष्ट्रिष्यताविरुद्ध अभिव्यक्ति दिने अमरेशको साथ देउवाले किन लिए ? यो गम्भीर प्रश्न अनुत्तरित छ । देउवाको खेलमा अमरेश भेटिएपछि माओवादीले शंका व्यक्त गर्दै कांग्रेसको प्रस्तावमा सरकार बनाउने निर्णय अस्वीकार गरेको राजनीतिक चर्चा छ ।
ओलीलाई ढाल्ने खेलमा देउवा यसरी फेल

0 comments
Write Down Your Responses